केयूको प्राध्यापक संघले गर्याे चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आन्दोलन घोषणा गरेको हाे।

संघले यसअघि तिन दिन भित्र नाम सिफारिस गर्न अल्टिमेटम दिएको थियाे । सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलन गरिने छ।

यदि सात दिने अवधिमा पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवम् शिक्षा मन्त्रीलाई प्राध्यापक संघले अपिल गरेको छ ।

त्यसपछि पनि उपकुलपति नियुक्त नभएकाे अवस्थामा अर्को चरणको दबाबमुलक आन्दोलन घोषणा गर्ने प्राध्यापक संघले जनाएको छ ।

गत फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० मध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । समितिका सदस्यहरूबीच कसकसको नाम सिफारिस गर्ने भन्नेमा मत नमिलेपछि सिफारिस राेकिएकाे हाे ।