काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपाली फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधनगर्ने क्रममा उनले गितबाट शुरु गरेका थिए । सांसद पौडेलले अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताएका हुन्।
‘अमेरिकाबाट हिजाे १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् उनले भने यसरी हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’
सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे ।
यसले संसारभरिका नेपालीहरू अपमानित हुने जुन प्रकारको अवस्था सिर्जना भएको भन्दै नेपालमै सुन्दर भविष्य खोज्ने वातावरण बनाउन सरकारले गम्भीर पहल गर्नुपर्ने उनले बताए ।
विदेशमा रहेका नेपालीको सुरक्षा गर्न र त्यहाँ रहेका नेपालीहरूलाई सहजतापूर्वक नेपालमा फिर्ता गर्न सरकारले गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ थियो ।