काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ ।
क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् । भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो ।
ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका अतृप्त, प्रतिध्वनिहरु विस्मृतिको, असममा नेपाली भाषाको साह्रोगाह्रो, तीन दशक बीस अभिव्यक्ति लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।
उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो ।
उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।