काठमाडौं, ३ चैत । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् ।
योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ । यो संख्या गत आव २०८०–८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो ।
अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स रहेको छ ।
विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ सय १७ जनाले श्रम स्वीकृति लिएका छन् ।
ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत नेपाली, फर्केर पनि तिर्न नसक्ने ४६ प्रतिशत
योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।
यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ ।
यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।
जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।
यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए ।
त्यस्तै माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् ।