अब एक ताेला सुन किन्न चाहिन्छ रु.१ लाख ८० हजार ३ सय!

काठमाडौं । बिहिबार सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन सामान्य घटेकाे सुनकाे भाउ आज फेरि बढेर नयाँ रेकर्ड राखेकाे हाे।

बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । बुधबार सुन ताेलामा १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।

यसकारण बढ्याे सुनकाे भाउ

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले सुनमा लगानी बढाउन थालपछि यसकाे भाउ बढेकाे हाे। लगानीकर्ता तथा केन्द्रीय बैंकले समेत सुनमा लगानी बढाएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्न गई मूल्य बढिरहेको छ । बिशेषत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट अमेरिका आयात हुने वस्तुमा करका दर बढाएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरेपछि बिहिबार फेरि सुनले नयाँ रेकर्ड राखेकाे हाे ।