पूर्वाधारमा निजी क्षेत्रको झण्डै ५ खर्ब लगानी, जलविद्युत र सिमेन्टमा धेरै

काठमाडौं ६ कात्तिक । गत वर्षसम्म पूर्वाधार संवद्ध क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब ५ खर्ब रुपैयाँ पुगेको छ । निर्माण, जलविद्युत, सिमेण्ट, यातायात तथा संचार, होटेल, शिक्षा, ठूला निर्माण, पर्यटन, स्वास्थ्य, सिंचाइलगायतमा गरी बैंक तथा वित्तीय संस्थाले गत असारसम्म ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो पूर्वाधार र त्यससँग सम्बन्धीत निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा हो । यसबाहेक पनि पूर्वाधार क्षेत्रमा ठूलो लगानी भएको छ ।
निर्माण क्षेत्रमा मात्र गत असारसम्म ३ खर्ब रुपैयाँ लगानी भएको छ । निर्माणमा आवासिय, गैरआवासिय र ठूला निर्माण गरी तीन क्षेत्रमा प्रवाह भएको लगानी समेटिएको हुन्छ ।

करिब ५ खर्ब क्षेत्रको पूर्वाधार क्षेत्रको लगानीमा आवासिय र गैरआवासिय क्षेत्रको लगानी समेटिएको छैन । ठूला निर्माणको लगानी मात्र समेटिएको छ । त्यसमध्ये गत असारसम्म ठूला निर्माणमा ४१ अर्ब ५४ करोड रुपैयाँ लगानी भएको सरकारी तथ्यांक छ । यो पुल, यातायात, राजमार्गलगायतमा भएको लगानी हो ।

पछिल्ला वर्षहरुमा पूर्वाधार संवद्ध क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी उच्च दरले बढेको देखिन्छ ।

हाल वाणिज्य बैंकले कुल लगानीको न्यूनतम १० प्रतिशत कृषिमा र १५ प्रतिशत उर्जा तथा पर्यटनमा लगानी गर्नुपर्छ । गत असारसम्म वाणिज्य बैंकले कुल लगानीको करिब साढे १८ प्रतिशत उत्पादनमुलक क्षेत्रमा प्रवाह गरेका छन् ।

लगानीका लागि भएको प्रतिवद्धता समेतलाई जोड्दा हाल जलविद्युत आयोजनामा बैंकको लगानी करिब सवा १ खर्ब रुपैयाँ बढी छ । तर, सडक, पुललगायतमा बैंकले प्रत्यक्ष रुपमा लगानी गरेका छैनन । ती क्षेत्रमा ठेकेदारमार्फत बैंकले कर्जा प्रवाह भने गरेका छन् ।

०७६ असारसम्म जलविद्युत क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब १९ अर्ब ८८ करोड रुपैयाँ लगानी भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको लगानी करिब साढे ४८ प्रतिशतले बढी हो ।

गत असारसम्म सिमेण्ट उद्योगमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ८८ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको लगानी साढे ३५ प्रतिशतले बढेको हो । ०७५ असारमा यस्तो लगानी साढे ६५ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा रेलवे र सार्वजनिक यातायात क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १७ अर्ब ५१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्षको लगानी करिब ६ प्रतिशतले बढेको छ । ०७५ असारमा यो क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी १६ अर्ब ५६ करोड रुपैयाँ थियो ।

गत वर्षमा होटेल क्षेत्रमा मात्र २३ अर्ब ७१ रुपैयाँ थप कर्जा विस्तार भएको छ । यो सँगै यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी ९१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here