पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न उप–क्षेत्रीय कार्यशाला

काठमाडौं । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा सोमबारदेखि उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ।

‘पूर्वी दक्षिण एसियामा व्यापार र यातायात सञ्जाल: चुनौतीहरू र आगामी कार्यदिशा“ शीर्षकमा आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग यूएनइस्क्याप र नेपाल सरकार राष्ट्रिय योजना आयोगको सह–आयोजनामा सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले पूर्वी दक्षिण एसियाली राष्ट्रहरू—नेपाल, भारत, बङ्गलादेश र भुटानबिचको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्दै क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यशाला विशेष अर्थपूर्ण रहेको स्पष्ट पारे ।

उपाध्यक्ष अधिकारीले यस क्षेत्रमा विद्यमान व्यापार र यातायात सञ्जालमा रहेका समस्या तथा चुनौतीहरूलाई क्षेत्रीय सहकार्यमार्फत आवश्यक नीतिगत तथा सङ्गठनात्मक समाधान गर्न कार्यशालाले सुझाव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रस्तुतीकरण मार्फत “चिकेन्स नेक करिडोर” (सिलगुरी करिडोर) लाई सम्भावनाको भू–आर्थिक कोरिडोरको रूपमा व्याख्या गर्दै यसले नेपाल लगायतका देशहरूको व्यापार वृद्धि, लागत न्यूनीकरण, तथा क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने बताए।

उहाँले बङ्गलादेश, भुटान, भारत र नेपाल ढाँचामा सवारी सम्झौता (मोटर भेहिकल एग्रिमेन्ट) जस्ता पहलहरूले पूर्वाधार एकीकरण, आर्थिक सहकार्य र समावेशी विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष अधिकारीले नेपालको १६औँ योजनाले व्यापार तथा यातायातलाई गुणस्तरीय पूर्वाधार, निर्यात प्रवर्द्धन, र क्षेत्रीय समन्वयसँग जोडिएको प्रमुख विषयवस्तुका रूपमा स्थान दिएको उल्लेख गर्दै डिजिटल व्यापार प्रणाली, भन्सार प्रणालीको आधुनिकीकरण र साना व्यापारीहरूलाई समेट्ने समावेशी रणनीति आवश्यक रहेको बताए ।

उक्त कार्यशालामा काँकडभिट्टा–फूलबारी–बगलबन्धु कोरिडोरको रणनीतिक महत्त्व, डिजिटल व्यापार सहज प्रणाली, बहुपक्षीय साझेदारी तथा निजी क्षेत्रको भूमिका लगायतका विषयमा सत्रहरू सञ्चालन हुनेछन् ।
कार्यशालाबाट पूर्वी दक्षिण एसियामा अझ मजबुत, समावेशी, र दिगो व्यापार तथा यातायात सञ्जाल निर्माणका लागि व्यवहारिक सुझावहरू प्राप्त हुने अपेक्षा गरिएको छ ।

आज र भोली दुई दिनसम्म चल्ने उक्त कार्यशालामा काँकडभिट्टा –फूलबारी –बङ्गलाबन्धु कोरिडोरको स्थलगत अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा युएनइस्क्याप का नयाँ दिल्ली स्थित कार्यालयका प्रमुख मिस मिकि सहित नेपाल, भारत, बङ्गलादेश र भुटानका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्था, विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

कार्यशालाको अध्यक्षता गर्दै आयोगकी सदस्य गीता कुमारी पौड्याल अधिकारीले कार्यशालाबाट प्राप्त सुझावहरूले नेपालसहित सम्पूर्ण उप–क्षेत्रको समावेशी तथा दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here