दक्षिण कोरियामा केही दिनदेखि लगातार परिरहेको मूसलधारे वर्षापछी आएको बाढी र पहिरोले कम्तीमा १४ जनाको ज्यान गएको छ। देशको विपद् व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार उद्धार कार्य जारी रहँदा मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । १२ जना अझै बेपत्ता छन्।
बुधबारदेखि सुरु भएको वर्षाले लगभग १० हजार मानिसलाई आफ्नो बासस्थान छाड्न बाध्य भएकाछन् । त्यस्तैै ४१ हजार बढी घरपरिवार अस्थायी रूपमा विद्युत् सेवा विहीन भएका छन्।
प्रभावित क्षेत्रमा मुख्यतया दक्षिणी र केन्द्रिय भागहरू पर्छ । राजधानी सउल र उत्तरी क्षेत्रहरूमा फेरि भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
सरकारी सूचनाअनुसार, हजारौं सडक तथा भवनहरूमा क्षति पुगेको छ, किसानका बाली नष्ट भएका छन् र पशुहरू मरेका छन्। सबभन्दा बढी क्षति सानचोङ काउन्टीमा भएको बताइएको छ, जहाँ ६ जनाको मृत्यु र ७ जना बेपत्ता छन्। राजधानी सउलको नजिकको पहाडी क्षेत्रमा पनि मानवीय क्षति देखिएको छ।
सरकारले अहिले बहु निकाय समन्वयमा उद्धार तथा पुनःस्थापना अभियान सञ्चालन गरिरहेको छ।
























