काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आगामी वर्ष सन् २०२६ मा अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन लागेको घोषणा गर्दै यस उपलब्धिले नेपालको स्वाभिमान र अन्तर्राष्ट्रिय छवि उँचो बनाउने बताएका छन्। बुधबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको आत्मनिर्भरता, लगानी वातावरण र आर्थिक कूटनीतिक क्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
उनले नेपाल अब द्विपक्षीय व्यापार तथा सहकार्यमा असर नपर्ने बताउँदै सम्मेलन कूटनीति, सगरमाथा सम्बाद र भिजिट डिप्लोमेसीमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउने अवसर सृजना भएको उल्लेख गरे। ‘सन् १९७१ मा संयुक्त राष्ट्र संघले नेपाललाई अति कम विकसित मुलुकमा राखेको थियो, जुन सूचीबाट अब ५५ वर्षपछि नेपाल बाहिरिने तयारीमा छ। हाल नेपालले एलडीसी समूहको नेतृत्व गरिरहेको छ’ उनले भने।
प्रधानमन्त्रीका अनुसार संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्यांकनमा मानव सम्पत्ति सूचकांक र वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको देखिएको छ, यद्यपि प्रतिव्यक्ति आयमा सुधार हालै मात्र आएको छ। उनले सुविधा कटौतीको आशंका गर्दै स्वास्थ्य, शिक्षा तथा अन्य क्षेत्र प्रभावित हुन सक्ने चेतावनी पनि दिए।
सरकारले सहज स्थानान्तरण सुनिश्चित गर्न ६ वटा रणनीति कार्यान्वयन गरिरहेको छ भने बहुपक्षीय र द्विपक्षीय सहकार्यबाट सहयोग जुटाउने प्रयास जारी भएको जानकारी उनले दिए । प्रधानमन्त्रीले निजी क्षेत्र, श्रम र व्यापार क्षेत्रमा सुधार गर्न आवश्यक रणनीति बनाइएको भन्दै स्थानान्तरणलाई दिगो बनाउने प्रतिबद्धता दोहोर्याए।






















