वायुसेवा कम्पनीद्वारा सबै आन्तरिक उडान बन्द

२५ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ ।

निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जानकारी दिए।

मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।

साथै विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्ने भनिएकाे छ। संघले सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन समेत अनुरोध गरेकाे छ।

संघले केही अराजक तथा उछृङ्खल मनोवृत्तिका व्यक्तिहरूले निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीका कार्यालयमा समेत आगजनी गरेको घटना निन्दनीय भएको जनाएको छ।