कात्तिक १५ गतेसम्म उठेको ब्याज पनि बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरणमा समावेश गर्न पाउने भएका छन् । राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थालाई उक्त सुविधा दिएको हो ।
जेनजी आन्दोलनपछि सृजना भएको परिस्थितिका कारण धेरै ऋणले असोज मसान्तमा तिर्नु पर्ने साँवा ब्याज भुक्तानी गरेका छैनन् । यही कारण बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ब्याज असुली र वित्तीय विवरण प्रकाशित गर्ने समय बढाउन माग गरेका थिए ।
उनीहरुकै आग्रहअनुसार राष्ट्र बैंकले कात्तिक १५ सम्म उठेको ब्याज पनि पहिलो त्रैमासकै वित्तीय विवरणमा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थप ७ दिन पाएका छन् । सामान्य अवस्थामा बैंकहरुले कात्तिक १५ सम्म पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसक्नु पर्ने व्यवस्था थियो । अब वित्तीय विवरण प्रकाशित गर्न राष्ट्र बैंकले एक साता थप गरिदिएको हो ।
बैंक तथा वित्तीय संस्थाको लेखानीति बमोजिम आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक
अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गर्न राष्ट्र बैंकले भनेको छ । बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकले यस बैंकमा पठाउनुपर्ने मासिक र त्रैमासिक विवरण तथा प्रकाशन गर्नुपर्ने अन्तरिम वित्तीय प्रतिवेदन आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको हकमा राष्ट्र बैंकमा पठाउन एवं अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८२ कात्तिक २१ गतेसम्म समयावधि थप गरिएको बताइएको छ ।


























