२ कात्तिक, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएसँगै याे सुबिधा लागू भएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो ।
प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, सरकारले तोकेको अधिकतम भाडा दरमा ५० प्रतिशत छुट दिइने भएको हाे।
त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ ।
जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणले जानकारी दिएकाे छ।
छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलार्य निर्देशन दिएको छ ।





















