२७ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि)मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले दरखास्त आह्वान गरेको छ । आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हाे । ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ ।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।
निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको ७ कात्तिकमा कार्यकाल सकिएपछि हाल नेपाल वायु सेवा निगम नेतृत्वविहीन छ । जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकका रुपमा काम गरिरहेका छन् ।






















