जेनजी युवा कुटेको आरोपमा बारामा दुई वडाध्यक्ष पक्राउ

४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् । दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए । प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर पुन: प्रदर्शन गरिरहेका छन् ।

एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेकोमा सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here