२५ मंसीर, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नबारे आवाज उठाउनेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।
सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् । उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।
जेन जी आन्दोलनमा दमन गरेर किशोरकिशोरीहरुको ज्यान लिएको आरोपमा केपी ओली विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । साथै समयमै सेना परिचालन नगरेर मुलुकका महत्वपूर्ण संरचना ध्वस्त बनाउन भूमिका खेलेको आरोप लागेको छ। ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर निवेदनमाथिको जवाफका क्रममा ओलीले रिट निवेदन पेश गर्ने विपक्षीलाई आक्षेप लगाएका हुन् ।
उनले लिखित जवाफमा भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’
आफू त्यतिबेला राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष भएकाले व्यक्तिगत रुपमा र अध्यक्षको हैसियतमा समेत सेना परिचालनवारे अदालतले प्रश्न उठाउन नसक्ने बताएका छन्। साथै ओलीले ती विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले न्यायनिरुपणको विषय नहुने जिकिर गरेका हुन् ।






















