काठमाडौं १८ कात्तिक । एसियाली विकास बैंक (एडीबी) ले नेपालको खाद्य सुरक्षा सुधारको लागि ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै एडिबीले नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि ५० मिलियन अमरिकी डलर (५ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको जानकारी दिएको हो ।
नितीगत ऋण स्वीकृतले नेपालको खाद्य सुरक्षाका उपायहरु सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यावसायीकरण प्रवद्र्धन गर्ने विज्ञप्तीमा जनाईएको छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहं भूमिका रहँदै आएको छ ।
यसको सम्भावना पनि प्रशस्त छ । यसका बाबजुद् पनि दक्षिण एसिया क्षेत्रमा नै नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागिएको बैकले जनाएको छ ।
एडिबीका वरिष्ठ व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणका अनुसार ‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ’।
‘कृषिले नेपालको विकास र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याउनसक्ने सम्भावना छ, तर यो क्षेत्र निर्वाहमा आधारित छ र खाद्य सुरक्षाका उपायहरूले अन्य मुलुकसँगको कृषि व्यापार सम्भाव्यतामा बाधा पुर्याइरहेको जनाईएको छ ।
‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी कृषि व्यावसायीकरण औपचारिक वित्तीय खोज्नका लागि बैंककरणीय व्यवसाय प्रस्तावहरू तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एडीबीले चरम गरीबी उन्मूलन गर्ने प्रयासलाई निरन्तरता दिई समृद्ध, समावेशी, लचिलो, र दिगो एशिया र प्रशान्त हासिल गर्न प्रतिबद्ध गरेको छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ। सन् २०१९ को कूल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ।
नेपालको काम गर्न योग्य (१५ वर्षभन्दा माथि)जनसंख्याको ५५ प्रतिशत कृषिमा संलग्न रहेको तथ्याङ्क छ, त्यसमा ६१ प्रतिशत महिला छन्। यद्यपि, यो क्षेत्रको उपादकत्व दक्षिण एसियाकै सबैभन्दा कम रहेको छ।
निर्वामुखी खेतीको प्रभुत्व, उपयुक्त खेतीको छनोट तथा प्रविधिमा रहेको कमजोरी, मल र बीउको अभाव, सीमित वित्तीय सेवा र पूर्वाधारलगायत कारण कृषिको उत्पादकत्व बढ्न नसकेको एडिबीको भनाइ छ।