अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

२३ पुस, काठमाडौं । अब नेपाल नागरिकले अमेरिका प्रवेशमा‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ। अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै देशहरूको सूचीमा समावेश गरेको हाे।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको हो।

नेपाललाई जनवरी २१ देखि लागू हुने गरी यो सूचीमा राखिएको छ। भिसा अन्तर्वार्ताका न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलर देखि अधिकतम् १५ हजार अमेरिकी डलर सम्म धरौटी राख्नपर्ने छ।

यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सिधै जम्मा गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई यस्तो रकम नबुझाउन मन्त्रालयले सचेत गराएको छ।

भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले अब आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन्। उनीहरूले प्रवेश गर्दा र अमेरिका छोड्दा तोकिएका यी ३ विमानस्थल मात्र प्रयोग गर्नुपर्ने छ ।

ती विमानस्थलहरूमा न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डिसी स्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुने वा भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ ।

यसरी राखिएको धरौटी रकम तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

तर भिसाको म्याद सकेपछि अमेरिकामा बसेमा वा त्यहाँ पुगेर शरण (असाइलम) दाबी गर्‍यो भने उक्त धरौटी रकम जफत हुने नयाँ नियम रहेको छ ।

अमेरिका पुगेपछि समयमै आफ्नो देश नफर्कने देशहरूलाई लक्षित गरी यो पाइलट प्रोग्राम ल्याइएको हो।

नेपालसँगै बंगलादेश, भुटान, नाइजेरियालगायत ३८ देशहरू अहिले यो सूचीमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here