काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाहले फेरि कोही सहिद हुन नपरोस् भन्दै कामना गरेका छन्।
सहिद दिवसका दिन शुभकामना सन्देश जारी गर्दै उनले यस्तो कामना गरेका हुन् । शाहले सहिदका सपना पूरा गर्ने कार्यभार सबैले पूरा गर्नुपर्ने बताएक छन् ।
उनले लेखेका छन् ‘राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ। त्यसको दश वर्षपछि राणा शासबनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन। यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन,’
८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको उनले उल्लेख गरेका छन् ।
‘अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौं। लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ। राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ। यी सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन। अब समय आएको छ– सहिदका रगतलाई सम्मान गर्दै उहाँहरुको सपना पूरा गर्ने,’ उनले भनेका छन्, ‘यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको स्मरण गर्दै उहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरि कसैले सहिद बन्नु नपरोस् ।
























