१ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छिन् ।
शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रियाका अवसरमा यस्ताे बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभइ देशको भविष्य कोर्ने निर्वाचन भएकाले सबै मिलेर आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन दिइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका लागि आफुले हिमालीदेखि सवै क्षेत्रको जानकारी लिएकाले तोकिएको समयमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सरकार ढुक्क रहेको बताइन् ।
सो क्रममा ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, सुरक्षा अधिकारीलगाएतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।


























