सन्दीपको चर्चा क्रिकेट भन्दा फरक विषयमाः राजधानीमा किने घर

काठमाडौं, २० कात्तिक । खासगरी आफ्नो खेल कौशलताका कारण मात्रै चर्चामा आउने नेपालमा लेग स्पिनर क्रिकेट खेलाडी सन्दीप लामिछाने यस पटकभने फरक कामको कारण चर्चामा आएका छन् ।

त्यो हो, क्रिकेटर सन्दीप लामिछानेले भर्खरै किनेको घर।

क्रिकेटर लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको घर किने । योसंगै लामिछानेको चर्चा फरक रुपबाट हुन थालेको छ ।

सामाजिक सञ्जालमा भएको चर्चा अनुसार सन्दीपले उक्त घर ६ करोड रुपैयाँमा किनेका हुन् । उनका म्यानेजर रमन सिवाकोटीले भने घर कतिमा किनेको भन्ने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

यसअघि चितवनको सौराहा बस्दै आएको उनको परिवार सन्दीपसंगै भर्खरै नयाँ घरमा सरेका छन् । सन्दीपको नयाँ घर साढे दुई तल्लाको छ । घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ। जसमा सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन्।

माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन्। घरको कम्पाउण्डमा बँगैचा छ। भने चार वटासम्म गाडी अट्ने पार्किङ पनि छ।

सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन्।

खेल जीवनमा सफलता पाएसँगै उनको जीवनशैलीमा समेत परिवर्तन भएको छ। उनले गत वर्ष टाटाको नेक्सन गाडी किनिसकेका छन्। त्यस्तै उनीसँग बिएमडब्लु र रोयल इन्फिल्ड बाइक पनि छ।

यस्तो छ सन्दीपको यहाँसम्मको यात्रा

नेपाली राष्ट्रिय क्रिकेट टीमका भरपर्दा खेलाडी सन्दीप लामिछाने । नेपाललाई विश्वभर चिनाउने एक चर्चित सेलिब्रेटी पनि हुन् ।
आफ्नो खेल कौशलताका कारण नेपालमा मात्रै नभई उनी विश्वभर परिचित छन् ।

सानै उमेरमा राष्ट्रिय टीममा डेब्यू गर्न पाउने सौभाग्य उनलाई प्राप्त भयो । उनको अन्तर्राष्ट्रिय लीगमा डेब्यूको टर्निङ्ग प्वाईन्ट भने अस्ट्रेलियाका पुर्व कप्तान माईकल क्र्लाकसँगको भेट मानिन्छ ।

क्र्लाकले लामिछानेलाई आफूसँगै खेल्न अष्ट्रेलिया बोलाए । त्यहाँबाट सुरु भयो लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट करिअर ।

कसरी सुरु भयो लामिछानेको अन्तर्राष्ट्रिय लीग यात्रा ?

प्रारम्भिक दिनमा लामिछानेले अष्ट्रेलियामा क्र्लाकसँग खेलेको बाहेक पहिलो अन्तर्राष्ट्रिय लिग भनेको इन्डीयन प्रिमियर लिग (आईपीएल) नै थियो । आइपीएलमा अनुबन्ध हुनसमेत उनलाई क्र्लाकले सघाएका थिए ।

त्यसपछि भने उनको भाग्यको ढोखा खुल्यो । त्यसो त सबै अवस्थामा उनी भाग्यमानी मात्र भन्न मिल्दैन । उनले आफूसँग भएको क्षमताका आधारमा ठूल्ठूला खेलाडीको स्टम्प उडाइदिएका छन् ।

यसले पनि सन्दीपलाई करियरमा पछाडी फर्केर हेर्नु परेको छैन । उनी निरन्तर बगिरहेको नदीजस्तै अगाडी बढेका छन् ।

८ लीगमा ५ करोड ३५ लाख कमाई

लामिछाने अहिलेसम्म ८ अन्तर्राष्ट्रिय लीग खेलिसकेका छन् । ती लीगमा अनुवन्धका माध्यमबाट मात्र उनले ५ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै कमाई गरिसकेका छन् ।

यसबाहेक भत्ता, विजेताका रुपमा प्राप्त हुने पुरस्कार, विश्वभर लीग खेल्न पुग्दा उनले पाउने अन्य सेवा सुविधा त छँदैछ । त्यसबाहेक विज्ञापनमा उनको मार्केट भ्यालू पनि त बढेको छ ।

आइपीएल, क्यारेबिएन प्रिमीयर लीग (सीपीएल), बीग व्यास लीग (बीबीएल), अफगानिस्तान प्रिमियर लीग (एपीएल), टी टेन, द हन्ड्रेड, जी–टि२० र पाकिस्थान सुपर लीग (पीएसएल) गरी यी आठ लीगमा मात्रै उनले ५ करोड ३५ लाख रुपैयाँ बराबर कमाई गरिसकेका छन् ।

कुन लीगमा कति कमाए ?

आईपीएल — ३२ लाख
सीपीएल — ७८ लाख
बीबीएल — ७० लाख
एपीएल — १७ लाख
टी टेन — ५० लाख
द हन्ड्रेड — १ करोड ४३ लाख
जी–टी ट्वान्टी — ६७ लाख
पीएसएल —७८ लाख

यी आठ लीगमा मात्रै उनले ५ करोड ३५ लाख भन्दा धेरै पैसा कमाईसकेका छन् । यसका साथै विज्ञापन, ब्राण्ड एम्बेस्टर, म्यूजिक भिडीयो तथा युट्युबबाट पनि उनको कमाई हुने गरेको छ ।

युवाका लागि प्रेरणाका स्रोत

उमेरले २० पनि नकटेका यी युवाको चर्चा विश्वभर हुन्छ । एउटा मानिसले सामान्य काम गरेर ७ पुस्तासम्म पनि कमाउन नसक्ने पैसा उनले यो उमेरमै कमाइसकेका छन् । संसारका करोडौं क्रिकेटप्रेमी मानिसलाई उनलाई चिन्छन् ।

साच्चिकै भन्ने हो भने अब उनी नेपाली युवाका प्रेरणाका स्रोत बनेका छन् । हिँजो सचिन तेन्दुल्कर बन्छु भन्दै क्रिकेट करीयर शुरु गरेका उनीहरुको भन्दा पछिको पुस्ताले अब ढुक्कका साथ भन्न सक्नेछ, म सन्दीप जस्तै बन्छु…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here