जंगली बँदेल पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौं । सरकारले जंगली बँदेललाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घाेषणा गरेकाे हाे।
कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था आएमा तोकिएको सर्तको अधिनमा रही विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ ।

सानो जातको बँदेललाई भने यसले नसमेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिने भएको छ ।

बँदेल पक्रिएमा त्यसलाई सम्बन्धित राष्ट्रिय निकुन्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा वन कार्यालयमा बुझाउनु पर्ने भएको छ । सो क्रममा बँदेलको ज्यान गएमा भने वडाका एक प्रतिनिधि र ५ स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्न तथा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र (व्यापारिक प्रयोजन बाहेक) प्रयोग गर्न सकिने गरी तोकिएको छ ।

यसको सबै जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने छ । यद्यपी निकुन्ज वा आरक्षण र वन क्षेत्रमा पसेर यस्ता जनावर मार्न, पक्रन वा लखेट्न निषेध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here