कर प्रोत्साहनका लागि सरकारले नै चिठ्ठा चलाउने, रु. १० लाखसम्म उपहार

रक्षा रेग्मी

काठमाडौं, ५ साउन । कर तिर्न र वस्तु वा सेवाको खरीदबिक्रीमा बिलविजल लिनका लागि आमजनतालाई प्रोत्साहित गर्ने उद्देश्यले सरकार आफैले चिठ्ठा चलाउने भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो चिठ्ठा योजनामा सरिक हुन पाउनेछन् ।

आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल÷रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन सरकारले आग्रह गरेको छ । उक्त बिल नम्बर नै चिठ्ठाका लागि नम्बरको रुपमा प्रयोग गरिने छ । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) योजनाको घोषणा गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

स्वदेशी बजारमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने–दिने संस्कृतिको विकास गर्न र कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यका साथ अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को अधिकार प्रयोग गरी स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत यो व्यवस्था लागू गरिएको हो ।

सहभागिताको योग्यता र प्रक्रिया
नेपालभित्र स्वः प्रयोजनका लागि एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता यस कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् ।

कार्यक्रममा सहभागिताका लागि भुक्तानी सेवा प्रदायकमार्फत विद्युतीय भुक्तानी गर्दा खरिद विवरण स्वतः समावेश हुनेछ । नगद वा अन्य माध्यमबाट खरिद गर्दा उपभोक्ताले आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमा बीजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर (पान), बीजक मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।

व्यावसायिक प्रयोजनका खरिद, सरकारी वा सार्वजनिक निकायका नामका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी÷ढुवानी र हवाई टिकटका बीजक तथा पान नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बिलहरू कार्यक्रममा समावेश हुन पाउने छैनन् । एउटा बीजक एक पटक मात्र सहभागी गराउन पाइने कार्यविधिमा उल्लेख छ ।

विजेता चयन प्रक्रिया
आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ गते र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ । प्रत्येक दिनका लागि एक जना विजेता छनोट गरिनेछ, जसले रु. १ लाख ३३ हजार ३ सय ३४ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरिनेछ, जसले रु. १० लाख उपहार पाउनेछन् ।

दुवै उपहार रकममा आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरी बाँकी रकम विजेताको बैंक खातामा सोझै भुक्तानी गरिनेछ । त्यसको अर्थ हो, रु. १० लाख जित्नेले रु. ७ लाख ५० हजार मात्र नगद हात पार्नेछन् ।

विजेताको नाम आन्तरिक राजस्व विभागको वेबसाइट र सामाजिक सञ्जालमा सार्वजनिक गरिनेछ र सम्बन्धित व्यक्तिलाई एसएमएस वा इमेलमार्फत जानकारी दिइनेछ । विजेताले सूचना घोषणा भएको १५ दिनभित्र सक्कल बीजक, आधिकारिक परिचयपत्र (नागरिकता÷राष्ट्रिय परिचयपत्र÷पासपोर्ट आदि), बैंक खाता विवरण र पान नम्बरसहित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्ता कागजात जाँचबुझ गरी १० दिनभित्र रकम भुक्तानी गरिने कार्यविधिमा उल्लेख छ ।

तोकिएको अवधिभित्र दाबी गर्न नआएमा उक्त उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ । यस्तै, नक्कली वा किर्ते कागजात पेश गरिएमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने व्यवस्था छ ।