काठमाडौं, ८ साउन । वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो ।
नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भि¥याउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् ।
यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए । सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।
डिनको जिम्मेवारी सम्हालेपछि बिहीबार जारी गरेको प्रेस वक्तव्यमा वैद्यले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताएका छन् । एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै उनले ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्वपूर्ण योगदान र्पुयाइरहेको बताए ।
पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।
नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशक भन्दा पुरानो व्यापारीक घराना वैद्य अर्गनाइजेशन टोयोटा गाडीको आधिकारीक विक्रेताको रुपमा लामो समयदेखि रहदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।
