परराष्ट्र मन्त्री खनालले खोजे मानार्थ वाणिज्यदूतहरुको सक्रिय भूमिका, कार्यसम्पादन सुधार्न सरकारले सहयोग गर्ने

काठमाडौं, ७ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

मानार्थ वाणिज्यदूत कप्र्स–नेपाल (एचसीसीएन)को १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा बिहीबार काठमाडौंको आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्यदूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

काठमाडौंमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्न मानार्थ वाणिज्यदूतहरूले महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गरेको बताउँदै मन्त्री खनालले जनस्तर, व्यापार, संस्कृति तथा संस्थागत सम्बन्ध विस्तारमा उहाँहरूको योगदान प्रशंसनीय रहेको बताए ।

परराष्ट्र मन्त्रालय मानार्थ वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । ‘मन्त्रालयले मानार्थ वाणिज्यदूतसम्बन्धी विद्यमान नियम, सुविधा तथा कार्यप्रणालीको समयानुकूल समीक्षा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलनअनुरूप सुधार गर्ने पहल गर्नेछ,’ उनले भने ।

उनका अनुसार नेपालको परराष्ट्र नीति राष्ट्रिय हितको प्रवद्र्धन गर्दै आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, नवप्रवर्तन प्रवद्र्धन तथा नागरिकका लागि अवसर सिर्जनामा केन्द्रित हुनेछ ।

रणनीतिक साझेदारी विस्तार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, बजार पहुँच विस्तार गर्ने, प्रविधि साझेदारी प्रवद्र्धन गर्ने तथा पर्यटन र दिगो विकासलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको पनि उनले बताए ।

‘यी प्रयासहरूमा मानार्थ वाणिज्यदूतहरू अपरिहार्य साझेदार हुनुहुन्छ । तपाईंहरूले आफ्नो व्यावसायिक सञ्जाल, स्थानीय बजारसम्बन्धी ज्ञान तथा सार्वजनिक र निजी क्षेत्रसँगको निकट सम्बन्धमार्फत व्यापार, लगानी, पर्यटन, शिक्षा तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्न सक्नुहुन्छ,’ मन्त्री खनालले भने ।

मन्त्री खनालले परम्परागत सम्बन्धलाई केवल औपचारिकतामा सीमित नराखी ठोस र मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानार्थ वाणिज्यदूतहरूका लागि तीनवटा प्राथमिकता अघि सारे ।

उनका अनुसार प्रत्येक मानार्थ महावाणिज्यदूतले आफ्नो जिम्मेवारीअन्तर्गतको मुलुकका लागि पर्यटन, प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा तथा व्यापार सहजीकरणलगायतका क्षेत्रमा केन्द्रित देश–विशिष्ट रणनीतिक कार्ययोजना तयार गर्नुपर्नेछ । व्यापार तथा लगानी प्रवद्र्धनका लागि नियमित रूपमा व्यवसाय–देखि–व्यवसाय (बी–टु–बी) कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरे ।

शिक्षा, संस्कृति तथा युवाबीचको आदान–प्रदान विस्तार गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मन्त्री खनालले मानार्थ वाणिज्यदूतहरूलाई आग्रह गरे । साथै, विदेशस्थित नेपाली नियोग, विदेशमा रहेका नेपाली मानार्थ वाणिज्यदूत, नेपालका लागि मान्यता प्राप्त विदेशी नियोग तथा काठमाडौंस्थित विदेशी मानार्थ वाणिज्यदूतहरूले निजी क्षेत्रबीचको सहकार्य विस्तार गरी पारस्परिक लाभदायी आर्थिक साझेदारीलाई अझ सशक्त बनाउन सक्ने विश्वास व्यक्त गरे ।