काठमाडौँ, ८ साउन । नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको छ ।
यी अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पु¥याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको बताए । “नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा एसएमईज् जस्ता उपाधि ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो । यी सम्मानहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्,” उनले भने ।
युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एक मानिन्छ । जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादन मार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थाहरूलाई सम्मान गर्दछ ।
नेपाल्स बेस्ट बैंक उपाधिले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको बैंकको भनाइ छ ।
त्यसैगरी, नेपाल्स बेस्ट बैंक फर ईएसजी अवार्डले दिगो वित्त (सस्टेनेबल फाइनान्स), जिम्मेवार बैंकिङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले प्रदर्शन गरेको नेतृत्वलाई सम्मानित गरेको छ ।
यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवाहरू, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवाहरू उपलब्ध गराउन बैंकले खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
