नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु

११ भदाै, काठमाडाैं । नुवाकोटका विभिन्न बजारमा विद्युत सेवा सूचारु गरिएको छ । बालाजु–त्रिशुली र चपली–देविघाट ६६ के. भि. लाइनलाई ११ के. भि. चार्ज गरि विद्युत सुचारू गरिएको नेपाल विद्युत प्राधिकरण्णले जनाएको छ ।

रसुवा तथा नुवाकोटमा अन्य स्थानमा विद्युत् आपूर्ति पुनर्स्थापना तथा उद्धार कार्य जारी रहेको बताइएको छ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध वैकल्पिक प्राविधिक उपायहरू अवलम्बन गरी काम अघि बढाइरहेको छ। सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।

रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ। अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन ३ थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ। अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन भएको छ।

अपर त्रिशूली–३ ‘ए’ को शान्ति बजारमा फसेका सुत्केरीसहित ७ जनालाई उद्धार गरी त्रिशूली ल्याइएको छ भने थप व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना तथा बाँकी व्यक्तिहरूको उद्धारका लागि सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायहरूबाट निरन्तर प्रयास भइरहेको छ।