२५ भदौ, काठमाडौं । नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ।
छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद व्यक्त गरे । उनले बाढीका कारण पीडामा रहेका नुवाकोटवासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरे ।
बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए ।
अब पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण तथा जडान कार्यमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत निरन्तर सक्रियता रहेको थियो। सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।
रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न स्थानका पुलहरू बगाउँदा नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो। पुलहरू बगाएपछि स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती खेप्दै आएका थिए। यसैबीच, प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाइएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने भएको छ।
