सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता

काठमाडौं, २५ कात्तिक । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा परिसंघका अध्यक्ष सतिस कुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताए ।

परिसंघले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसंघकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा बृहत् छलफल भएको थियो ।

छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसंघले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै उनले सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरे ।

सामाजिक सुरक्षा योजना नौलो भएपनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताए ।

परिसंघको टोलीले योजनाका व्यावहारिक कार्यान्वयनमा केही कठिनाइ देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे ।

योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो । सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मंसिर १४ गतेसम्मको समयसीमा तोकेको छ ।

कोषमा हालसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र १ लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् ।

भेटमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवाली उपस्थित थिए।

परिसंघका तर्फबाट उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारदा लगायत उद्यमी व्यवसायीहरुको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here