नेपालमा उच्चस्तरीय भ्रमण र भिजिट इयरको संयोग

काठमाडौं,२९ कात्तिक । ‘नेपालबारे विश्वको चासो छ, तपाई देखिरहनु भएको छ, अहिले जसरी उच्चस्तरीय भ्रमण भइरहेका छन्, यसले नेपालको ब्राण्डिंगमा निकै ठूलो भूमिका खेल्छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उच्चस्तरीय भ्रमणको सिलसिलामा भन्छन्, ‘भ्रमण वर्षलाई यसले ठूलो सहयोग गर्छ ।’

सुस्त तयारीका वावजुत पछिल्लो समय ब्राण्डिंगका दृष्टिकोणबाट भ्रमण वर्षले गति लिएको छ । यसमा निरन्तर भइरहेका उच्चस्तरीय भ्रमणको अझ ठूलो हात छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पछिल्लो चार दिन यता नेपालमा छन् । पछिल्लो समय घट्दै गएको बंगलादेशको पर्यटक आगमन बढाउन उनको नेपाल आगमनले निकै ठूलो भूमिका खेल्ने आशा व्यवसायीहरुले गरेका छन् ।

किनकी करीव दुई दशकपछि भएको यस भ्रमणले नेपालबारे बंगलादेशमा सकारात्मक समाचार लगेको छ । जब उनी फर्कनेछन्, लगत्तै विश्चचर्चित क्रिकेटर सचिन तेन्डुल्कर नेपालमा ओर्लनेछन् ।

विश्वभरका करोडौं क्रिकेट फ्यान उनलाई पच्छ्याउँछन् । उनको एक क्लिकले संसारभर नेपालको प्रचार हुन्छ ।

सेलिब्रेटी ब्राण्डिंग कति प्रभावकारी ?

अक्टोवर महिनामा नेपाल आउने पर्यटकको संख्या सबैभन्दा धेरै चिनियाँ नागरिकको थियो । यसै महिना नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति सी आएका थिए ।

उनको भ्रमणको प्रचार यति शक्तिशाली थियो की, त्यसले संसारका धेरै देशसम्म नेपालको नाम पुर्यायो । फलस्वरुप उक्त महिना चिनियाँ पर्यटकको संख्या उल्लेख्य बढ्यो ।
गत वर्ष भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले यस भेगमा भारतीय पर्यटकको आगमनमा ठूलो सहयोग गरेको थियो । त्यसकारण नेपालमा उच्चस्तरीय भ्रमणले भ्रमण वर्ष २०२० लाई समेत सकारात्मक सन्देश प्रवाह गर्न सक्ने देखिएको छ ।

नेपालले चुकाएको अवसर

एकसाथ धेरै सेलिब्रेटी भित्राएर एकैपटक ब्राण्डिंग गर्ने एक अवसर नेपालले गुमाइसकेको छ । भारतका चर्चित सेलिब्रेटीहरु ल्याउने गरी आइफा अवार्डको तयारी नेपालले गरेको थियो । सरकारले यसका लागि अनुमति पनि दिएको थियो ।

तर, नेपालमा भारत विरोधी मानसिकता उर्लदो अवस्थामा रहेका बेला उक्त कार्यक्रमको ठूलो आलोचना भयो । अन्ततः कार्यक्रम भारतले घरमै आयोजना गर्यो । यो कार्यक्रम कति महत्वपूर्ण थियो भने, त्यसले सीटीको ब्राण्डिंगमा ठूलो प्रभाव पार्छ ।

किनकी मकाउले अहिले पनि आफ्नो पहिचान दिँदा आइफा अवार्ड आयोजना भएको शहरका रुपमा चिनाउने गर्छ ।

आगामी दिनमा नेपालले त्यो गल्ती दोहोर्याउनु हुँदैन । आएको अवसरलाई दुबै हात थापेर उपयोग गर्नुपर्छ । किनकी नेपाली अर्थतन्त्रको एक मात्र आधार पर्यटन नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here