चीनको तेस्रो सहरमा हिमालय एयरलाइन्स,काठमाडौं-चाङ्सा सिधा उडान

काठमाडौं, ६ मंसिर । निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सासम्म सिधा उडान सुरु गरेको छ।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने र मुलुकको पहिचान बढाउने उद्देश्यले उडान सेवा सुरु गरेको जनाएको छ। यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् ।

गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो ।

हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो ।

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ ।

आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।

नेपाल–चीनको सञ्जाललाई अझ सुदृढ बनाउन चीनमा अझ अर्काे नयाँ रुट थप गर्न पाएकोमा कम्पनी एकदमै खुसी रहेको जनाउँदै एअरलाइन्सका प्रशासन हेर्ने उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिन बेइजिङ र गुइयाङबाहेक चीनका अन्य सहरमा पनि अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताए।

काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here