८ बैंकको साढे २० अर्ब रुपैयाँको ऋणपत्र आउँदै

काठमाडौं ६, मंसिर । निकट भविष्यमा साँढे २० रुपैयाँ बराबरको ऋणपत्र बजारमा आउने भएको छ । सो रकम बराबरको ऋणपत्र निष्काशनका लागि ८ बैंकले राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन् । ती मध्ये केही बैंकले ऋणपत्र निष्काशन गरिसकेका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये बैंकहरुले आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबरको ऋणपत्र निष्काशन गर्नुपर्छ । यसकालागि राष्ट्र बैंकले २०७७ असार मसान्तभित्रको समयावधि दिएको छ ।
चालु आर्थिक वर्षको कात्तिक २७ गतेसम्म ८ वाणिज्य बैंकले २० अर्ब ५० करोडको ऋणपत्र जारी गर्न स्वीकृति प्राप्त गरेको राष्ट्र बैंकको तथ्यांक छ । बैंकहरुले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले विदेशबाट बैंकिङ क्षेत्रका अतिरिक्त पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट ६ महिनाको लाइबर दरमा थप ४ प्रतिशत विन्दुसम्ममा ऋण लिनसक्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा एक वाणिज्य बैंकले अमेरिकी डलर २ करोड ऋण लिन स्वीकृति लिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशबाट ऋण ल्याउन यो सुविधा दिए पश्चात कुल ३ करोड १६ लाख अमेरिकी डलर भित्रिएको राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here