गुणस्तर नियन्त्रण तथा आश्वस्तता सम्बन्धी एसियाली राष्ट्रहरुको सेमिनार काठमाडौंमा सुरु

काठमाडौं, १६ मंसिर । एसियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संगठन (एसोसाई) को आयोजना तथा महालेखापरीक्षकको कार्यालयको संयोजनमा काठमाडौंमा आयोजित गुणस्तर नियन्त्रण तथा गुणस्तर आश्वस्तता सम्बन्धी सेमिनारको महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले उद्घाटन गरेका छन् ।

सर्वोच्च लेखापरीक्षण संस्थाहरुको लेखापरीक्षण कार्यमा गुणस्तर नियन्त्रण तथा आश्वस्तता अभिवृद्धि गर्ने उद्देश्यले २०७६ मंसिर १६ देखि २० सम्म सञ्चालन हुने सो सेमिनारमा एसिया महादेशबाट विभिन्न २४ देशका सर्वोच्च लेखापरीक्षण संस्थाका २७ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय महालेखापरीक्षकले लेखापरीक्षण कार्यमा गुणस्तरको विषयलाई उच्चतम र पहिलो प्राथमिकतामा राखी सर्वोच्च लेखापरीक्षण संस्थाहरुले कार्यसम्पादन गर्नुपर्ने बताए ।

सो क्रममा उनले गुणस्तरीय नतिजाले सर्वोच्च लेखापरीक्षण संस्थाको विश्वसनीयता कायम गर्दै लेखापरीक्षण कार्यको प्रभावकारिता वृद्धि गर्न समेत सहयोग पुग्ने धारणा व्यक्त गरे ।

त्यसैगरी उनले प्रभावकारी गुणस्तर नियन्त्रण तथा आश्वस्तता प्रणालीको अवलम्वनबाट पारदर्शिता, जवाफदेहिता र निष्ठा प्रर्वद्धन गर्न सकिने विश्वास व्यक्त गरे ।

सर्वोच्च लेखापरीक्षण संस्थाको गुणस्तर नियन्त्रण एवं आश्वस्तता सम्बन्धमा यस सेमिनारले सहयोग पु¥याउने अपेक्षा समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here