साग महिला क्रिकेट: नेपाल बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं, १८ मंसिर । साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिम खराब ब्याटिङका कारण ५० रनमै समेटिन पुगेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो ।

अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए ।

आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार गर्‍यो भने छक्का प्रहार गर्न सकेन । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

जवाफमा बंगलादेशले बिना विकेटको क्षतिमा सात ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here