दैनिक १ हजार जनाले लिन्छन् अनलाइनबाटै प्रहरी रिपोर्ट, यसरी भर्नुहोस् फारम

काठमाडौं, १९ मंसिर । घण्टौं लाइन बसेर प्रहरी रिपोर्ट लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रहरीले रिपोर्टको लागि काठमाडौं धाएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था गरेको हो ।

सेवाग्राहीले अनलाइन प्रणाली मार्फत घरबाटै अनलाइन फाराम भरेर पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

दर्ता गरेको तीन दिनमा अनलाइनबाटै चारित्रिक प्रमाणपत्रको विद्युतिय प्रति लिन सकिने नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्र.व.उ.उमेश राज जोशीले क्लाउड पत्रिकालाई बताए ।

उनले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको बताए ।

यसरी भर्नुहोस् अनलाईनबाट फारम

प्रहरी रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । जसको लागि नेपाल प्रहरीको बेवसाइटमा दायाँतर्फ रहेको ‘पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइ’ (https://opcr.nepalpolice.gov.np/#/login) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्नेछ । यस्तै, सेवाग्राहीले आफूलाई प्रहरी रिपोर्ट किन आवश्यक परेको हो भन्ने बेहोरासमेत खुलाउनुपर्नेछ ।

यस्तै, आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भएको वा नभएको भन्नेबारे समेत मागेको जवाफ सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ । त्यहाँ फारम भरेपछि आउने एप्लिकेसन नम्बरको आधारमा फर्म भरेको ३ दिनपछि सफ्ट कपी आफ्नो ‘आईडी’मै उपलब्ध हुनेछ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सम्पूर्ण विवरण देखाउँछ । यदि नमिलेको खण्डमा सच्याउन सकिन्छ ।

सबै विषयलाई मागअनुसार रजिस्ट्रेसन गरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।

सेवाग्राहीले अनलाइनबाट फाराम भरेको तीन दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्नेछन् । तर, अनलाइन सिस्टममा नै देखाइएको विवरणअनुसारको रिपोर्टलाई समेत सेवाग्राहीले लिन चाहे विवरण भरेपछि तत्कालै लिन सक्नेछन् ।

चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय,

पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम वा दिईएको लिङ्कबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । यसरी प्राप्त निवेदन फारम निवेदक आफैले भर्न सकिने प्रहरीले सार्वजनिक गरेको सूचनामा जनाईएको छ ।

निवेदकले आफ्नो चालचलन बुझ्नको लागि

निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा,

४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्ने सूचनामा जनाईएको छ ।

समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ ।

चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।

ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।

निवेदन वुझाउने समय :- काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा – शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।

विदेशमा रहेका नेपाली नागरिकहरूका लागि

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्ने उल्लेख गरिएको छ ।

समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ ।

निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने सूचनामा जनाईएको छ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
१) पृष्ठ नं – २, ३ तथा ३१ ।
२) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।

ख) नागरिकताको प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।

* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here