गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगको उत्पादन रोक

काठमाडौं, ३० मंसिर । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा गरेको अनुगमनपछि ती उद्योगहरुको उत्पादनमा रोक लगाएको हो।

विभागका महानिर्देशक डा. मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिइन्।

उनले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताइन्।

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ।

विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र, ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here