राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ कार्यक्रम

काठमाडौं, २ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनको लागि आयोगले तालिका सार्वजनिक गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।

पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ । मतदानपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टीका १ र एक जना सरकारबाट मनोनित सदस्यको कार्यअवधि २१ फागुनमा सकिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here