अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग

काठमाडौं, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।

अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो । शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको छ । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन् । किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् ।

दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् । सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।

डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँग ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो । ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here