काठमाडौं ६ पुस । डिसेम्बर महिनाको २२ तारिख आज वर्षकै छोटो दिनको रुपमा चिनिन्छ । आज सबैभन्दा छोटो समय घाम लाग्ने र रात भने लामो हुने गर्छ ।
भोलिदेखि क्रमशः दिन लामो र रात छोटो हुँदै जान्छ । ज्योतिषशास्त्र अनुसार सबै ग्रहले आ–आफ्नै समय अनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।
आइतबार बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ । हरेक वर्ष डिसेम्बर २१, २२ र २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुन्छ ।