आजदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै खुल्ने, धावनमार्गको पिच फेरिँदै

काठमाडौं, १८ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २१ घण्टा सञ्चालनमा आइरहेको विमानस्थलको धावनमार्गको पिच फेर्नका लागि बन्द गर्न लागिएको हो ।

सो काम ३ महिनासम्म जारी रहने विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ । आजदेखि विमानस्थल बिहान ८ बजेदेखि राती १० बजेसम्म मात्र खुल्ला रहने छ । धावनमार्ग पुनस्र्थापनाको काम राती १० बजेदेखि बिहान ८ बजेसम्म हुन लागेको हो ।

दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा सेवा दिइरहेका कम्पनीको उडानमा भने असर पर्ने छ । नेपाल वायु सेवा निगमको उडान भने कटौती नगरिएकोले निगमका यात्रुलाई भने खासै असर देखिदैन ।

करीव ४ दशक पुरानो धावनमार्गको पीच अब फेरिने भएको हो ।

धावनमार्ग पुनस्र्थापनाको जिम्मा चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ को–अपरेशनले पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार सम्झौता भएको ४ महिना निर्माण कम्पनीले आवश्यक तयारी पुरा गर्नेछ । त्यसको ४५ देखि ७० दिन भित्र सम्पूर्ण धावनमार्गको पीच उप्काएर त्यसमा नयाँ पीच राखिनेछ ।

प्राधिकरणले धावनमार्ग पुनस्र्थापनाका लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अहिले त्रिभुवन विमानस्थलको पीचको क्षमता १ सय ७० टन रहेकोमा नयाँ बन्ने धावनमार्गको क्षमता ३ सय टनसम्मका जहाज उडान–अवतरण गराउन सक्ने हुनेछ । धावनमार्गको पीच केन्द्रमा ४५ मिटर र छेउमा ३० मिटरसम्मको हुने विमानस्थल व्यवस्थापनले जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here