माघे संक्रान्तिमा कुन तरुल खाने ? यस्तो छ बजार मूल्य

काठमाडौं, २९ पुस । उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्ने र बेच्नेहरूको घुइँचो लागेको छ ।

माघेसंक्रान्तिको पूर्वसन्ध्यामा तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहलका कारण राजधानीको अधिकांस बजार ‘तरुलमय’ भएको छ ।

बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुल ,पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु,पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।

किलोको ८० देखि ५०० रुपैयाँसम्म

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले ६० रुपैयाँदेखि ५ ०० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने तरुल छन् ।

तरुलको स्वरुप र आकारको आधारमा पनि तरुलको मूल्य निर्धारण हुने कुरा व्यवसायीहरु बताउँछन् । कालिमाटीको पसल नं. २ मा तरुल बेच्दै गरेका डिल्ली कुमार रावल आफ्नो पसलमा विभिन्न पाँच थरीका तरुल रहेको र उनीहरुको मूल्य प्रतिकेजी १२० रुपैयाँदेखि ५०० रुपैयाँ सम्म रहेको बताउँछन् ।

‘मेरो पसलमा सबैभन्दा महङ्गो तरुल भनेको बन तरुल नै हो, जसको मूल्य प्रतिकेजी ५०० रुपैयाँ तोकिएको छ’ उनले भने, ‘धेरै मानिसहरुको रोजाईमा भने निलो तरुल नै पर्छ, जसको मूल्य प्रतिकेजी २०० रुपैयाँ रहेको छ ।’

त्यस्तै पसल नं. ४३ का व्यापारी ईश्वर ढकाल तरुल कहाँबाट किनेको र त्यसको आकार प्रकार तथा वनावट कस्तो छ भन्ने कुराले प्रभाव पार्ने कुरा बताए ।

‘तरुलको मूल्यमा त्यसको आकार प्रकार र कहाँबाट किनेको भन्ने कुराले प्रभाव पार्छ’ उनले भने, ‘मैलै बन तरुल प्रतिकेजी ३५० मा नै दिन्छु, तर बिचौलियाबाट किनेका व्यापारीले प्रतिकेजी ५०० मा पनि बेचिरहेका छन् ।’

व्यापार घट्योः व्यापारी

कालिमाटीमा तरुल बेच्दै आएका व्यापारीहरु व्यापार कम हुन थालेको बताए । कालिमाटी तरकारी बजारमा तरुले बेचिरहेकी पसल नं. ११ का सानुकाजी महर्जनले अघिल्लो वर्षको तुलनामा तरुलको व्यापार घटेको कुरा बताईन् ।

‘हरेक चोक चोकमा पसल छन्, त्यसकारण पनि तरकारी बजारमै आएर तरकारी किन्ने मानिसहरुको संख्यामा कमी आएको छ’ उनले भनिन्, ‘नजिकको पसलमा ५ रुपैयाँ महङ्गो तिर्ने तर टाढा आएर केही सस्तो मूल्यको तरकारी किन्ने प्चलन हराएको कारण पनि तरुलको व्यापारमा कमी आएको हो ।’

कालीमाटी ‘तरुलमय’, माघे संक्रान्ति लक्षित १२ सय टन तरुल भित्रियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here