काठमाडौं । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक भएको छ ।
पुस्तकलाई संयुक्त रुपमा नेपाली चलचित्र जगतका तीन अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का , लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए। ’यस्ता विषयमा नेपालमा कमै लेखिएका छन्। डिबीले यस विषयमा गहिरिएर खोतल्ने प्रयास गरेका छन्,’ उनले भने।
लामो समय रंग पत्रकारिता गरेका खड्काको पुस्तकबारे अभिनेत्री रेखाले भनिन्, ’किताब असाध्यै मनपर्यो। जति पटक किताब पढ्यो उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा रुचिपूर्ण कथा लागे ।’
अर्की अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन् । ’कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ । धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुर्व्यवहार भोग्नुपरेन ।’
त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएको मा आफू प्रभावित भएको आशय पोखिन् ।
लेखक खड्काले लामो समय चलचित्र पत्रकारीता गरेको अनुभवमा कलाकारिता क्षेत्रमा भएको राम्रो नराम्रो पक्ष केलाएर पुस्तक लेखेका हुन्।
लेखक खड्काले पुस्तकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरिएको बताए। कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाई छ।

























