रञ्जुको मिथिला चित्रकला आर्ट काउन्सिलमा

काठमाडौं, १९ चैत ।
चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ ।

चैत्त १६ गते सुरु भएको पाँच दिवसीय प्रदर्शनी चैत्र २० गतेसम्म चल्ने छ । प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र प्रदर्शित छन् ।

व्यावसायिक रुपमा मिथिला चित्रकलामा विगत ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखेकी छन् ।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभइ समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उनको भनाइ छ ।

प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेश र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् ।

विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएकी छन् । यी विसंगतिहरु मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतिक हुन्, उनले भनिन् ।

‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेकी हुँ,’ रञ्जुले भनिन् ।

‘कला कलाका लागि मात्र होइन, समाजका लागि पनि हुनुपर्दछ भन्ने मेरो बुझाइ छ । त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध मैले मेरा चित्रहरु कोर्ने गर्दछु,’’ उनले थपिन् ।

रञ्जुका कलाचित्रका तीन चरणहरु पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान ।
तराईमा व्याप्त दाइजो प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र उनले प्रदर्शनीमा राखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here