कुर्ची मै बसेर योग अभ्यास (फोटोफिचर)

काठमाडौं, १ माघ । राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा मनाइएको कार्यक्रममा उपस्थितले योगाभ्यास गर्दै योग दिवस मनाएका हुन् । समारोहको सक्रियतामा बिहान प्रभातफेरी गरिएको थियो ।

पद्मोदय माध्यामिक विद्यालयबाट शुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएको थियो । प्रभातफेरीमा योगसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतले योग अभ्यास गरेका छन्। उनीहरूले कुर्ची मै बसेर योग अभ्यास गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उनले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए ।

उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए । उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए ।

आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । उनले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए । उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए । सरकारले प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउँदै आइएको छ ।
तस्विर: रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here