कुहिरोले ढाक्यो काठमाडौं, उडान र अवतरण रोकियो

काठमाडौं, ४ माघ । बिहीबारदेखि जारी हिमपात र वर्षा देशका कतिपय स्थानमा अझै रोकिएको छैन।

मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले पनि देशको पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ । शनिबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्र कुहिरोले ढाकेको छ।

त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली र तराईका भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

माघ ५ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया सफा तथा आंशिकसम्म बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here