सभामुख विवाद टुङगियो, अग्नि सापकोटा सभामुख !

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुखको टुंगो लगाएका छन् ।

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ रहेका नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको स्रोतले जनाएको छ ।

सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।

यो सहमतिलाई आइतबार नेकपा सचिवालय बैठकले अनुमोदन गरेपछि सोमबार सभामुखको निर्वाचन प्रक्रिया प्रतिनिधि सभामा हुनेछ । यो प्रक्रियाअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्नेछिन् ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा छन् ।

महराले राजीनामा गरेपछि तल्लो सदन मानिने प्रतिनिधि सभाको सभामुख पद खाली थियो । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ ।

पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here