विश्वभर प्लाष्टिकजन्य फोहोरको विगविगी, पुनः प्रयोग गर्न नमिल्ने सामग्री प्रतिबन्ध !

काठमाडौं, ६ माघ । विश्वभर प्लाष्टिकजन्य फोहोरको विगविगी छ । प्लाष्टिकजन्य फोहोर मानवमात्र नभई सम्पूर्ण जीवजन्तुका लागि समेत हानिकारक छ ।

प्लाष्टिकजन्य फोहोर धेरै जटिल हुन्छ र यो कहिले पनि नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण प्रतिवर्ष लगभग एक लाखभन्दा बढी दुर्लभ समुन्द्री जीव मारिन्छन् ।

१० लाखभन्दा बढी समुद्री पन्छीले आफ्नो ज्यान गुमाउँछन् । प्रत्येक वर्गमाइलमा कुल ६० हजारभन्दा बढी प्लाष्टिक झोला हरसमय तैरिराखेको हुन्छन् ।

पछिल्लो समय प्लाष्टिक फोहोरको चपेटामा चीन परेको छ । चीनमा वर्षौदेखि फोहोर व्यवस्थापन ठूलो समस्याका रुपमा रहँदै आएको छ । चीनको सबैभन्दा ठूलो ल्याण्डफिल्ड साइड आँकलन गरिए भन्दा २५ वर्ष पहिले नै भरिएको छ ।

एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकका सामग्रीमाथि प्रतिबन्ध लगाउने बृहत योजना सार्वजनिक गरेको छ । प्लाष्टिक जन्य फोहोरको कारण नै चिन्तित बनेको चीनले प्लाष्टिकजन्य फोहोरको समस्या समाधानका लागि पाँच वर्षे योजना ल्याएको छ ।

जसको लागि देशभर नै पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउने योजना अघि सारेको हो । नयाँ योजना अनुसार सन् २०२० को अन्त्यसम्ममा प्रमुख शहरहरुमा पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक झोलाहरुको प्रतिबन्ध लगाइने छ ।

यस्तै सन् २०२२ सम्ममा चीनका सबै शहर तथा बजारहरुमा पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक झोला प्रतिबन्धित गर्ने योजना छ । जस अनुसार सन् २०२५ सम्ममा एकपटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकको बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लाग्नेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here