अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटा निर्वाचित भएका छन् ।

आइतवार दिउँसो बसेको प्रतिनिधसभा बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

गत असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो । प्रतिनिधि सभाले करिब चार महिनापछि निर्विरोध नै सभामुख पाएको छ ।

सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेयता प्रतिनिधि सभा सभामुखविहीन थियो ।

एकै पार्टीबाट सभामुख र उपसभामुख हुन संवैधानिक अड्चन देखिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि गत साता राजीनामा दिएकी थिइन् ।