काठमाडौं, १३ माघ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोप सहित १२ बटा देशमा पुगेको पुष्टि भएको छ ।
चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० नाघेको छ । दुई हजार बढी संक्रमित छन् । चीनको वुहान प्रान्तमा आवतजावमा प्रतिबन्ध लगाइएको छ ।
विभिन्न कामको सिलसिलामा चीनको वुहान पुगेका विभिन्न देशका नागरिकहरु पनि अहिले त्यहीँ बस्न बाध्य छन् । अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकहरुले आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउने प्रयास गरेका छन् ।
फ्रान्स,थाइल्याण्ड, सिंगापुर, भियतनाम र दक्षिण कोरिया, ताइवान र नेपाल लगायत विभिन्न मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो एक फरक खालको कोरोना भाइरस हो । यसलाई जनवरी ७ मा चिनियाँहरुले नोवल कोरोना भाइरस भएको पुष्टि गरेका थिए ।
पहिलो पटक सन् १९६० मा कोरोना भाइरस देखिएको थियो । तर, यो भाइरस कताबाट आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । क्राउनजस्तो आकारमा हुने भएकोले यस भाइरसलाई कोरोना नाम दिइएको हो । यसले जनावर र मानव दुबैलाई संक्रमित बनाउँछ ।
अधिकांश कोरोना भाइरसहरु सामान्य किसिमका भाइरस हो । जसले नाक तथा घाँटीमा संक्रमण गराउँछन् ।
केही कोरोना भाइरसहरु त्यति खतरानाक हुँदैनन् । तर, केही कोरोना भाइरसहरु निकै खतरानाक हुन्छन् । सन् २०१२ मा साउदी अरेबियामा पहिलोपटक देखिएको मिडिल इस्ट रेस्पाइरेटरी सिस्टम ९मर्स० बाट ८५८ जनाले ज्यान गुमाएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वभर आपतकाल घोषणा गर्ने बेला भने भइसकेको छैन । संक्रमण देखिएका मुलुकहरु उच्च सतर्कता अपनाउन भने जरुरी रहेको छ ।
के हो कोरोना भाइरस ?
संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।
नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।
सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।
यी हुन् कोरोना भाइरसको लक्षण
— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या
कसरी बच्ने यो भाइरसबाट ?
यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः
—नियमित रुपमा हात सफा गर्ने
— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने
— मासु तथा अण्डा राम्ररी पकाएर खाने
— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।
कति गम्भीर छ यो भाइरस ?
कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।
कहाँबाट आयो यो भाइरस ?
यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।
यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।