लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड ३० लाख नाफा

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले नाफा बढाएको छ ।

पुस मसान्तसम्ममा लक्ष्मी बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत अर्थात १७ करोड ९२ लाख बढी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ३७ लाख खुद नाफा आर्जन गरेको थियो।

९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड १८ लाख वितरण योग्य मुनाफा आर्जन गर्न सफल यस बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड ५७ लाख बढेर १ अर्ब २९ करोड ४१ लाख पुगेको छ।