वुहानबाट ३२३ भारतीय बोकेको एयर इण्डियाको विशेष जहाज भारत पुग्यो

नयाँ दिल्ली । चीनको वुहान शहरबाट भारतले एयर इण्डियाको विशेष जहाजबाट ३२३ जना नागरिकलाई फिर्ता गरेको छ । आइतबार बिहान एयर इण्डियाको जहाज दिल्ली पुगेको छ ।

९ बजेर १० मिनेट जाँदा जहाज दिल्ली विमानस्थलमा अवतरण गरेको हो । यही जहाजले शनिबार ३२४ जना भारतीयलाई यस शहरबाट फिर्ता ल्याएको थियो । वुहान कोरोना भाइरस उत्पत्ती भइ फैलिएको शहर हो ।

यस शहरबाट धमाधम विदेशी मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् । भारतले चीनबाट फर्काएका सबैलाई दिल्ली नजिकै मानेसर तथा छावलामा भारतीय सेनाको निगरानीमा राखिएको छ ।

चीनबाट भारतीय विद्यार्थी ठूलो संख्यामा स्वदेश फर्किएका हुन् । चीनमा मात्र यो भाइरसको संक्रमणबाट ३ सय ४ जनाको ज्यान गइसकेको छ ।

सोहीकारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यता, अमेरिकासहित ६ मुलुकले हालसालै चीन भ्रमणमा पुगेका विदेशी नागरिकलाई आफ्नो मुलुकको प्रवेशमा रोक लगाएको छन् ।

अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, रुस र पाकिस्तानले भ्रमणमा यस्तो प्रतिवन्ध लगाएका छन् । विकसित मुलुकको यस निर्णयको भने विरोध भएको छ । यसबाट सहायता सामग्रीको ओसार पसारमै असर पुग्ने विश्व स्वास्थ्य संगठनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here